न्युजिल्याण्ड पठाउँछु भन्दै ९ युवालाई फसाउने युवतीलाई प्रहरी समायो

न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–७ घर भएर बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल उर्फ दिया छिन् ।

पौडेलले सिन्धुली घर भएका नारायण बोगटीसहित ९ जनालाई न्यूजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार ९ जनाबाट ६३ लाख रुपैयाँ रकम असुलेर उनी सम्पर्कविहीन भएकी थिइन् ।

न्युजिल्याण्डका लागी प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्छ भन्थिन् । उनले त्यहाँ १ लाख ७० हजारसम्म तलब हुन्छ भनेर उनले ‘न्युजिल्याण्ड सपना’ बेच्ने गरेकी थिइन् ।

यसरी उनले ६३ लाख २० हजार रुपैयाँ लिएर ठगी गरेको आरोप छ। पक्राउ परेकी पौडेललाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

असार २१ मा आरोपीलाई कपनस्थित निलोपुलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।