माओवादी बैठक : प्रचण्डले पदाधिकारीको नाम प्रस्तुत गर्ने, खुमलटारमा छलफल जारी

चार दिनदेखि काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको बैठक बुधबार पनि बस्दैछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुको नाम प्रस्तुत गर्ने कार्यसूची छ । साथै अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।

माओवादी केन्द्रको बैठक आइतबारदेखि शुरु भएको हो । बैठकमा प्रचण्डले १० पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् । तर, हलबाट पदाधिकारी चयन हुनुपर्ने दबाव बढेपछि सोमबारको मंगलबारको बैठक स्थगन गरेर कार्यालयको बैठक डाकिएको थियो ।

मंगलबार खुमलटारमा बसेको कार्यालयको बैठकले पदाधिकारीको प्यानल तयार पार्ने जिम्मा प्रचण्डलाई सुम्पेको छ ।

माओवादीको महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । तर चर्चामा आएका नामभन्दा बाहिरबाट पनि महासचिव बनाउन सकिने प्रचण्डले संकेत गरेका छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ स्वाभाविक दाबेदार हुन् भने कृष्णबहादुर महरा र मात्रिका यादवले समेत दाबी गरेका छन् ।

पदाधिकारीको होमवर्क सकिएन भने बुधबारको बैठकमा प्रतिवेदनमाथि मात्रै छलफल गरेर पदाधिकारीको अर्को बैठकमा प्रस्तुत हुने सम्भावना रहेको स्रोतले बतायो ।

पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा क–कसलाई राख्ने भन्नेबारे बुधबार बिहान प्रचण्डनिवास खुमलटारमा कार्यालयको बैठक बसिरहेको छ ।