पोखरा विमानस्थलको हवाइ सुरक्षाका लागि जोखिमजन्य रुख र पोल हटाइने

काठमाडौँ असार १४ ,

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ सुरक्षार्थ रिठेपानी डाँडाका जोखिमजन्य रुख र पोल हटाउने बाटो खुल्ने भएको छ।

ती जोखिम अवस्थाका रुख हटाउन स्वीकृति दिने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण र वन तथा भूसंरक्षण विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

चिनियाँ ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हाल भौतिक प्रगति सम्पन्न हुने चरणमा छ। सरकारले अंग्रेजी नयाँ वर्षदेखि विमानस्थल सञ्चालन गर्ने तयारी गरेको प्राधिकरणले जानकारी दिएको छ।

अप्पर हेवाखोलाको आइपिओ आउँदै

अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्न लागेको हो।

कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन्।

जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन ६ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ।