प्रधानमन्त्री माथि अमेरिकी सेना भ्रमण बारे उठ्यो प्रश्न,मौन देउवा !

प्रतिनिधि सभा छलफल सकिएको छ। संघीय संसद सचिवालयकाअनुसार सोमबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

जेठ १७ गतेदेखि जेठ २८ गतेसम्म प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बजेटका अलावा नेपालको परराष्ट्र नीति, विदेश नीति, अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी कार्यान्वयन, अमेरिकी अधिकारीहरको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्रीको अमेरिका भ्रमण लगायतका विषय हरेक दिन उठ्यो।

नेपाल-भारत सीमा समस्या र समाधानको विषय पनि बजेटको शीर्षकगत छलफलमा सांसदहरूले उठाए। सांसदहरूले सरकारको कुटनीतिबारे आवाज मात्रै उठाएका छैनन्, सत्तारुढ पाँचदलीय सत्तागठबन्धन र स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन्।

सत्तारुढ दलबाटै सरकारको विदेशनीतिमाथि प्रश्न उठेको छ। यी लगायतका विषयमा सांसदहरूले प्रत्येक मन्त्रीलाई प्रश्न त गरेकै छन्, प्रधानकमन्त्री शेरबहादुर देउवामाथि अझ धेरै प्रश्नहरू छन्। जसको जवाफ प्रधानमन्त्री देउवाले आफैं दिनुपर्नेछ।

अमेरिकी सैन्य कमान्डरकाे भ्रमणबारे प्रश्न

प्रमुख प्रतिपक्ष एमाले र पाँचदलीय सत्तारुढ गठबन्धनमा रहेकाे दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणकाबारेमा संसदमा जानकारी गराउन माग गरेको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा समय मागेर पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दललेसमेत प्रश्न उठाइरहेका बताए। प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो भन्ने विषय संसदमा जानकारी गराउनुपर्ने उनले बताए।

सत्तापक्षको एक दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउनु सामान्य नभएको भन्दै उनले भने, ‘सत्ता गठबन्धनमा रहेको असझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमणसँग जोडिएका केही अत्यन्त महत्त्वपूर्ण विषयहरू छन्, जससँग सत्ता घटकहरूबीच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो। गुरुङको तर्क थियो।

गुरुङले अमेरिकाले नेपाललाई आफ्नो सैन्य रणनीतिअनुसार स्टेट पाटर्नरसिपमा सामेल गराउन खोजेको भन्दै यसलाई रोक्न नेपाली पक्ष सतर्क र सजक हुनुपर्नेमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। ‘मिडियाहरूकाअनुसार सिरिया र लेवनानको शान्तिसेना बुझन जाने क्रममा प्रधानसेनापति अमेरिका भ्रमण गर्ने कुरा उठिरहेको छ तर भ्रमणको एजेन्डा देखिदैन’, गुरुङले भनेका थिए, ‘रक्षा मन्त्रीको हैसियतले सम्माननीय प्रधानमन्त्रीको पनि अमेरिका भ्रमणको कुरा उठिरहेको छ। पहिलो कुरा अहिले यो स्थितिमा त्यो भ्रमण नै आवश्यक छैन।’

गुरुङले राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर अमेरिका भ्रमणका कार्यक्रमहरू स्थगित गर्न आग्रह गरेका थिए। उनले भनेका थिए, ‘सम्माननीय प्रधानमन्त्रीको भ्रमण र प्रधानसेनापतिको भ्रमणका सन्दर्भमा पनि स्थगित गर्न आग्रह गर्न चाहन्छु।’