स्वतन्त्र उम्मेदवारी घोषणाको लहरले दलहरुमा दोहोरो दबाब

काठमाडौँ । स्थानीय तहमा बालेन्द्र शाह र हर्क साङपाङले पाएको जनसमर्थनबाट उत्साहित भएर अहिले प्रतिनिधि सभाको आसन्न चुनावका लागि पनि स्वतन्त्र उम्मेदवारी घोषणाको लहर नै चलेको छ ।

यस पंक्तिमा युवा अनुहार बढी छन् । पार्टीभित्र पनि युवालाई अघि सार्न दबाब परिरहेको छ । के अब संसदको उमेर संरचना फेरिएला ? स्थानीय सरकारमा जस्तै स्वतन्त्र उम्मेदवारहरु मतदाताको रोजाइमा पर्लान् ? धेरैको चासोको विषय बनेको छ ।

प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा त भइसकेको छैन तर सरकारले र निर्वाचन आयोगले मंसिरमा का लागि तयारी गरिरहेका छन् । २०७४ मा मंसिरमै चुनाव भएको थियो । निर्वाचनको मिति तय नभए पनि उम्मेदवारी घोषणा गर्ने लहर भने देशव्यापी चलिसकेको छ । स्थानीय तहको निर्वाचन परिणामले केही गैरदलीय उम्मेदवारप्रति रूझान देखिएपछि प्रतिनिधि सभाको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर चलेको देखिन्छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन विवेकशील नेपाली दलबाट काठमाडौं महानगरको प्रमुखमा प्रतिस्पर्धा गरेकी रञ्जु दर्शनाले अहिले काठमाडौ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् । काठमाडौं १ मा पुकार बमले प्रचार अभियान नै चलाइसकेका छन् ।

काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर १३ हजार मत ल्याएका
सुमन सायमी संसदमा पनि प्रतिस्पर्धा गर्ने भएका छन् । रवि लामिछानेले टेलिभिजनको आकर्षक तलबसहितको जागिरै छाडेर चुनावमा होमिने निर्णय लिएका छन् । रविका दाइ हरिशरण लामिछानेले काठमाडौँ क्षेत्र नम्बर ५ रोजिसकेका छन् भने रविले काठमाडौँ ४ बाट गगन थापासँग प्रतिस्पर्धा गर्ने उनका सहयोगीहरुको भनाइ छ ।

जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईकी छोरी मानुषी यमीले पनि काठमाडौँबाटै चुनाव लड्ने रुचि देखाएकी छन् । उनले पनि पार्टीको मुख नताक्ने भनेकी छन् । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको विजयले अरु पनि धेरै हौसिएका छन् । पार्टीमै आबद्ध
कतिपय युवाले पनि सामाजिक सञ्जालमार्फत् स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिरहेका छन् । यस लहरले नतिजा जेजस्तो भए पनि राजनीतिक दलहरुलाई टिकट वितरणदेखि नेता व्यवस्थापनसम्म निकै ठूलो दबाब पर्ने देखिएको छ ।

कांग्रेस र एमालेजस्ता घरघरमा संगठन रहेका परम्परागत पार्टीका उम्मेदवारलाई २३ हजारभन्दा बढी मतले हराएर बालेन्द्र काठमाडौं महानगरको प्रमुख चुनिएका छन् । यस्तै धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पनि सत्ता गठबन्धन र एमालेकै उम्मेदवारलाई हराए ।

उता धनगढीमा गोपाल हमालले बालुवाटारमै भूकम्प जाने गरी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुको क्षेत्रमा कांग्रेस गठबन्धनलाई धुलो चटाइदिए । अरु केही पालिकाहरुमा पनि स्वतन्त्र र बागी उम्मेदवारले चामत्कारिक उपस्थिति जनाएका छन् । केही ठाउँमा त स्वतन्त्रका प्यानलै जितेका छन् ।

स्थानीय तहको निर्वाचनले अर्को रोचक परिदृश्य देखाएको छ । दोहोर्‍याएर जिम्मेवारी लिन चाहेका धेरैको भागमा पराजय हात परेको छ भने जित्नेमध्ये अधिकांश युवा र पहिलोपटक टिकट पाउनेहरु हुन् ।

प्रतिनिधि सभा निर्वाचनमा भने २०४८ देखि लगातार अवसर पाएइरहेकाहरुकै दबदबा छ । उनीहरुका कारण युवा नेताहरु प्रतिस्पर्धाबाटै वञ्चित भएका छन् । यसपालि युवा तथा नयाँ अनुहारलाई अवसर दिन दलहरुलाई दबाब परेको छ भने स्वतन्त्र उम्मेदवारहरुले अर्को चुनौती थप्ने देखिएको छ ।