हेलिकप्टर सेवा भक्तपुर सार्दै उड्डयन प्राधिकरण

भक्तपुर, ३० जेठ
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मात्र संचालन हुदै आएको हेलिकप्टर सेवा अब भक्तपुरको नलिन्चोकबाट संचालन हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलको ट्राफिक चाप घटाउन हेलिकोप्टर सेवालाई भक्तपुर स्थित नलिन्चोकमा सार्न लागेको हो ।
नागरिक उड्डयन प्राधिकणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याड भक्तपुरमा सार्न लागिएको पुष्टि गरेका हुन् । भक्तपुर सारिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका व्यावसायिक उडानले ग्राउन्ड या आकाशमा होल्ड हुनुपर्ने समस्यामा क्रमिक सुधारिँदै जाने उनले विश्वास ब्यक्त गरेका छन् ।

हेलिकोप्टर उडानलाई नलिञ्चोक स्थानान्तरण गरिए पनि बिरामी बोकेका चार्टर्ड उडानले भने विमानस्थल प्रयोग गर्न पाउनेछन् । अत्यावश्यक पर्दा बिरामी ल्याउनुपर्ने भएमा त्यस्ता चार्टर उडानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राथमिकताका आधारमा उडान अवतरण गर्न दिइने उनको भनाइ छ ।

प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माणका लागि ठेक्का प्रक्रिया थालिसकेको छ। हाल सञ्चालनमा रहेका १० वटा हेलिकोप्टर कम्पनीसँग छलफल गरी निर्णय गरिएको उनले बताए । प्राधिकरणको सेफ्टी विभागका अनुसार, हाल १० वटा कम्पनीका ३३ वटा हेलिकोप्टर दर्ता छन् ।