बाबुरामको प्रस्ताव देउवाले गरे ठाडै अस्वीकार

काठमाडौँ – जनता समाजवादी पार्टी जसपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । जति सम्झाउँदा पनि पार्टी अध्यक्ष उपेन्द्र यादवले नमानेपछि संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईलाई छट्पटी भएको छ ।

त्यही छट्पटीका विचमा भट्टराईले पार्टी बिभाजनको गृहकार्य तीब्र पारेका छन् । एमसीसी अनुमोदनका बेला नयाँ पार्टी दर्ता गराई जसपा फुटाउन ठिक्क पारेर फेरि पछाडि हटेका भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टी विभाजनका लागि सजिलो हुनेगरी अध्यादेश ल्याइदिन आग्रह गरेका छन् ।

दल विभाजनका लागि मौजुदा ऐन बाधक हुने भन्दै भट्टराईले माधव नेपालको हकमा झैं गरिदिन बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आग्रह गरेको जानकार स्रोतको दाबी छ । उपेन्द्रनिकट स्रोतले पनि प्रधानमन्त्री र अध्यक्ष उपेन्द्रबीच आज फोनमा कुराकानी भएको बताएको छ ।

अहिलेको दलसम्बन्धी ऐनमा पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ । तर, आफूसँग केन्द्रीय समितिमा ४० प्रतिशत नभएकाले २० मा झारेर अध्यादेश ल्याइदिन अनुरोध गरेको बताईएको छ ।

प्रधानमन्त्री देउवाले आज बिहान जसपा अध्यक्ष उपेन्द्र यादवलाई फोनमार्फत यसबारे जानकारी गराएपछि पार्टी फुटाउने बाबुरामको आन्तरिक तयारी बाहिर आएको स्रोतले सुनायो । देउवाले फोन गर्दा उपेन्द्र भने पार्टीका जनजाति नेताहरुसँग बैठकमा थिए ।

पार्टीमा कमजोर भएकै कारण संख्या पुर्याउन नसकेका बाबुरामले देउवासंगको भेटमा अध्यादेश ल्याएर मद्दत गरिदिए सरकारलाई सहयोग गरेर गुन तिर्ने बताएको समेत जानकार स्रोतले बतायो । देउवाले भने आफू कुनै पार्टी फुटाउनकै लागि अध्यादेश ल्याएर फेरी विवादिन हुन नचाहेको जवाफ दिएका थिए ।

जसपा स्रोतले भने महन्थहरुले छोडेर जाँदा त खासै फरक नपरेकाले जनाधार नभएका बाबुरामले छोड्दा पार्टीलाई नोक्सान नपर्ने बताउँदै उनी एमालेमा जानसक्ने समेत दाबी गरेको छ ।