काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने रमेश खरेलको घोषणा

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट चुनाव लड्ने सुशासन पार्टीले जनाएको छ ।

‘देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको यस अभियानमा सबैको साथ, सहयोग र माया रहिरहनेछ भन्दै अपेक्षा गरिएको’ सामाजिक सञ्जालमार्फत नेपाल सुशासन पार्टीले उल्लेख गरेको छ ।

यसअघि खरेल काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने चर्चा चलेपनि उम्मेदवारी भने दिएनन् । साथीहरूसँग सल्लाह गर्दा मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठीक भन्ने धेरैले राय दिएको उनले बताएका थिए ।