काठमाडौंका मेयर बालेनले गरे फेरि अर्को घोषणा, नगरवासीमा छायो खुसीयाली

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुन्धारास्थित धराहरा क्षेत्रको अनुगमन गरेका छन्। शनिबार दिउँसो सुन्धारास्थित धरहरा र लुँहिटीको मेयर शाहले निरीक्षण गरेका हुन्।

महानगरपालिकाका मेयर शाहले सुन्धारामा सुनको धाराबाट पानी झार्ने घोषणा गरेका छन्। उनले त्यहाँस्थित सुनको धाराबाट पानी लानका लागि आवश्यक पर्ने सबै विषयको बारेमा जानकारी लिएका थिए।

उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल गर्ने बताए। संभव भएसम्म महानगरपालिकाको बजेटभित्रै रहेर सुन्धारामा पानी ल्याउने व्यवस्था गर्न शाहले निर्देशन दिएका छन्।

‘सुरुमा पानी ल्याउने ब्यवस्था गरौं, अरु काम गर्न सजिलो छ,’ उनले निरीक्षणका क्रममा भने, ‘केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गरौं न त।’

मेयर शाहले पानी धरहरा र सेता टावरको आ–आफ्नै महत्व भएका कारणले दुवैको महत्व भएको बताए। ‘आफ्नो आमा बुबा अशक्त भए भन्दैमा आमा–बुबा भन्न छोड्नु भएननी त्यसैले धरहरा,धरहरा हो सेतो टावर, सेतो टावर नै हो,’ उनले भने।

शाहले यसबारे प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटमा पनि आफ्नो छलफल भएको बताए। टुँडिखेलबाट पानी ल्याउने कुरामा प्रधानसेनापतिसमेत सकारात्मक भएको भन्दै कुनै अवरोध नहुने शाहको भनाइ छ।

त्यस्तै मेयर शाहले क्षेत्रपार्टी निःशुल्क चिकित्सालयको अनुगमन गरेका छन्। शनिबार बिहान अनुगमनमा गएका शाहले स्वास्थ्य र शिक्षा व्यापारका रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन्।

२०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन्।

मेयर बालेन्द्र शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया समेत गरे। अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तरक्रियापछि उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरेका छन्।

उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन् ।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचार विहिन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्।