संसदीय निर्वाचनमा वामपन्थी दल मिल्लान् कि भन्ने कांग्रेसलाई डर

काठमाडाैं । स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस आसन्न संसदीय र प्रदेश निर्वाचनमा पनि अहिलेकै गठबन्धन कायम राखेर निर्वाचनमा जान चाहन्छ । तर आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने रणनीति सत्ता नेतृत्व कर्ता कांग्रेसले तय गरिसकेको छैन ।

कांग्रेस यतिबेला सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीको निर्णय पर्ख र हेरको अवस्थामा छ ।सत्तारुढ दल कांग्रेसले चुनावी रणनीति तयार पारेको छैन । सबै स्थानमा गठबन्धन वा केही महत्वपूर्ण स्थानमा मात्र भन्नेमा अझै अन्यौल छ।

स्थानीय निर्वाचनबाट केही ससक्त देखिएको माओवादी र चुनावी परिणामप्रति असन्तुष्ट नेकपा एकीकृत समाजवादीको निर्णयपछि कांग्रेसले निर्वाचको रणनीति तय गर्नेछ। वामपन्थी दल कुनै पनि बेला मिल्न सक्ने डर कांग्रेसलाई छ। २०७४ सालको संसदीय निर्वाचनमा कांग्रेसविरुद्ध सबै दल एकजुट भएका थिए । ।कुनै पनि दलमा एकलै बहुमत ल्याउँछु भन्ने आँट देखिदैन ।

त्यही भएर चुनावमा गठबन्धन गरेर जाने मनस्थितिमा दलहरु देखिए पनि कस्तो गठबन्धन बन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । ओलीको वाम र प्रचण्डको वामबीच एकता गर्न पात्र र प्रवृत्ति परिवर्तन नहुन्जेल सम्भव छैन ।