पार्टी कब्जा गर्ने दाउमा बाबुराम, उपेन्द्र अल्पमतमा

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद फेरि ब्युँतिएको छ । सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णयपछि जसपा विभाजनको डीलमा पुगेको छ ।

अहिले अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भएर संसदीय दल पनि विभाजि भएको छ । स्रोतका अनुसार, जसपाका १९ जना सांसदमध्ये १२ जना बाबुरामको पक्षमा खुलेका छन् उपेन्द्र यादवको पक्षमा ७ जनामात्रै देखिएपछि कार्यकारिणी समितिमा पनि बाबुराम पक्ष बहुमतमा रहेको दाबी गरिएको छ । जसपाका नेता अशोक राई पनि बाबुराम पक्षमा लागेपछि उनी बलियो भएको जसपा स्रोतको दाबी रहेकाे छ ।

त्यसो त, गठबन्धन सरकारमा मन्त्री पठाउने बेलामा ६ महिना कार्यकाल तोकेर जसपापले अहिलेका मन्त्रीहरुलाई पठाएको थियो । पछि बाँकी ६ महिनाका लागि पुनः अन्य सांसदलाई पठाउने भनेर प्रतिस्पर्धालाई थामथुम पारिएको थियो । अहिले, उनीहरु जसरी पनि मन्त्री बन्ने दौडमा लागेका छन् । उक्त दौडमा रहेका व्यवक्तिलाई साथ दिएर बाबुराम भट्टराईले थप मलजल गरिरहेको जसपा स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, बाबुराम भट्टराईले अहिले जसपाभित्र समस्या बनाई सकेसम्म पार्टी जसपा कब्जा गर्ने रणनीतिमा लागेका छन् । कार्यकारिणी सदस्यमा बहुमत पुर्याएर कब्जा गर्ने रणनीति लिएका भट्टराईलाई जसपाभित्रका पूर्वराजपा समूहका नेताहरुले साथ दिएका छन् । मन्त्री बन्न चाहेका नेताहरु मोहम्मद इस्तियाक राई, प्रदीप यादव पनि अहिले बाबुराम क्याम्पमा लागेका छन् । उनीहरु पहिला उपेन्द्र यादवका विश्वास पात्र थिए । मन्त्री बन्न नपाएकै कारण उनीहरुले कित्ता परिवर्तन गरेका हुन् । पूर्वराजपाका नेताहरु महेन्द्र राय यादव, मृगेन्द्र सिंह, अमृता अग्रहरीलगायतका सांसद पनि बाबुराम भट्टराईको साथमा लागेका छन् ।

त्यसले गर्दाखेरी जसपा अहिले विवादको उत्कर्षमा पुगेको स्राेतकाे दावी छ । जसपा विभाजनको डिलमा पुगेका कारण गठबन्धन सरकार नै धरमरमा पुगेको छ । बाबुराम भट्टराई जसपा कब्जा गरेर महन्थ ठाकुरसँग एकता गर्ने रणनीतिमा लागेका छन् । बाबुराम भट्टराई निकटका अनुसार ठाकुरसँग एकता गरेपछि आउने निर्वाचनमा कांग्रेससँग तालमेल गर्ने रणनीति बनाएका छन् । त्यही कारण अहिले बाबुरामले यो गठबन्धनको विकल्प खोज्नुपर्ने बताइरहेका छन् ।

विचार मिल्नेहरु एकातिर हुनुपर्ने धारणा राखिएका बाबुरामको पुरानै लाइन भएपनि अहिले बीचको केही समय भने बाबुराम उपेन्द्र यादवसँग खासै रुष्ट थिएनन् । बाबुरामनिकट नवराज सुवेदीलाई राष्ट्रियसभा सदस्य नबनाएको भनेर बाबुरामले पहिलो विवाद निकालेका थिए । त्यही कारण पार्टी झन्डै विभाजनमा पुगेको थियो । पछि सुवेदीलाई राजदूत बनाएपछि विवाद मत्थर भएको थियो । अहिले पनि आफ्ना मान्छेलाई मन्त्री बनाउने र चुनावको मुखसम्ममा जारी पनि यादवको साथ छोड्ने लाइनमा बाबुराम रहेको भन्दै जसपाभित्र चर्चा हुन थालेको छ ।