एमालेबाट फुटेर गएकाहरूलाई पार्टीमा स्वागत हुँदैन – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको बताए ।

विराटनगरमा पत्रकारसँगको कुराकानीमा शुक्रबार उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताएका हुन् ।

उनले भने, कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन ।

यसअघि विराटनगरमा आयोजित कार्यक्रममा असार १७ गते सत्ता गठबन्धनबारे गरेको भविष्यवाणीको समयअघि नै लक्षण देखिन थालेको अध्यक्ष ओलीले बताए ।

पार्टीले निकालेका मन्त्रीलाई प्रधानमन्त्रीले कायम राखे पनि पार्टी निरीह भएर हेरेको हेर्‍यै छ, उनले भने, ‘पार्टीले मन्त्री निकाल्यो तर निक्लिएनन् । पार्टीको हालत यस्तो भइसक्यो ।

स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले एमाले दोस्रो भए पनि लोकप्रिय मत प्राप्त भएकोबाट एमाले एमाले नै रहने ओलीको भनाइ थियो ।

६ दल मिलेस कुनै सिद्धान्त‚ विचार रहेन जसरी भए पनि एमालेलाई हराउने एक मात्र सर्त रह्यो, उनले भने, थोरै मतले सिट संख्याका आधारमा दोस्रो भयौं तर लोकप्रिय भोटमा एमाले अगाडि नै छ ।

उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशवासीले अत्यधिक मतका साथ एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।