गठबन्धनविरुद्ध माधव नेपाल, खुलेरै भने एक्लै लडेको भए धेरै जित्थ्यौँ

काठमाडौं । स्थानीय तहको निर्वाचनको नतिजालाई हेर्दै सत्तारुढ गठबन्धन दलका नेताहरुले असन्तुष्टि पोख्ने क्रम जारी राखेका छन् । बुधबार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको गठबन्धनले आफूहरुलाई घाटा भएको टिप्पणी गरेका छन्।

समाजवादीनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान मास्ने प्रवृत्ति देखिएकाले त्यसलाई जोगाउनका लागि गठबन्धन गरिएकाले आगामी चुनावसम्म बचाएर लैजाने पनि उल्लेख गरेका छन्।

‘हाम्रो पार्टी गठबन्धन सरकारमा सहभागी छ। नेपालको राजनीतिलाई प्रतिगमनमा लाने र संविधान मास्ने प्रवृत्तिलाई रोक्न कोर्ष नै फेर्न खोजेका हौँ’, उनले भने, ‘प्रतिगमनकै मतियार भएको भए, त्यसमै डुबेको भए देशकै विनाश हुने थियो।’

उनले कम्युनिष्ट पार्टीभित्र जसले गलत प्रवृत्तिको मुकाबिला गरेका छन्, उनैले देशलाई सही बाटोमा लगेको पनि बताएका छन्। ‘त्यसैले हामीले ठीक काम गरेका छौँ। गठबन्धन जोगाएका छौँ। हामीले फाइदा पनि लिएका छौँ’, उनले भने,’महानगरतर्फ पोखरामा जित निकालेका छौँ। हेटौँडा उपमहानगरमा पनि जित्यौँ।’

उनले आफूहरुले गठबन्धनमा भर पर्दा धेरै स्थान गुमाएको पनि बताएका छन्। ‘हाम्रो कमजोरी के भयो भने गठबन्धनको गीत धेरै चलेन। गठबन्धन राम्ररी चलेन’, उनले थपे, ‘हामी एक्लै लडेको भए अझै जित्ने रहेछौँ।