उपेन्द्र यादवले धोका दिएपछि जसपा फुट्दै

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको नजिक पुगेको छ । सत्तामा सहभागी हुने विषयलाई लिएर जसपा संकटमा परेको हो ।

अध्यक्ष यादवले ६ महिनामा मन्त्री हेरफेर गर्ने वचन दिए पनि त्यसलाई उल्लंघन गरेर धोका दिएपछि पार्टीको फुटको संघारमा पुगेको हो । ६ महिनामा हेरफेर गर्ने भनेर त्यतिखेरको विवाद मत्थर पारेका उपेन्द्रले अहिले त्यसलाई पूरा नगरेपछि विवाद बढेको हो ।

उपेन्द्रले सरकारमा यादवहरुमात्रै च्यापेको, मधेसको वीरगंजलाई वेवास्ता गरेको र महन्थ ठाकुरसँग रहेका सांसदलाई मन्त्री बनाउने लोभ दिएर जसपातिर ल्याए पनि मन्त्री बनाउन वेवास्ता गरेका थिए । पछि मन्त्री बनाउने भनेर थुमथुम्याएका थिए । तर अहिले एकीकृत समाजवादीले प्रतिबद्धताअनुसार ६ महनाभित्र मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउँदासमेत उपेन्द्रले वास्ता नगरेपछि असन्तुष्ट सांसदहरु पार्टी फुटाउने निष्कर्षमा पुगेका छन् ।

अवसर जति आफ्नालाई दिने र आफूहरुलाई पेल्ने नीति लिएपछि सांसदहरु असन्तुष्ट बनेका छन् । असन्तुष्ट सांसदले दुई महिनाअघिदेखि नै मन्त्री फेर्न माग गरे पनि उपेन्द्रले नसुनेपछि पार्टी फुटको डिलमा पुगेको हो ।

उपेन्द्रले सांसदहरुलाई चाँडै केन्द्रीय कार्यकारिणी परिषद् र संसदीय दलको बैठक बोलाएर मन्त्री हेरफेरको निर्णय गर्ने आश्वासन दिए पनि अहिलेसम्म बैठक बोलाएका छैनन् । मन्त्री फेर्नुपर्ने पक्षमा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई पनि छन् । उपेन्द्रले एकलौटी पेलेपछि बाबुराम पनि असन्तुष्ट सांसदको पक्षमा उभिएका छन् ।

अहिले जसपामा १९ जना सांसद रहेकोमा ४० प्रतिशत पुर्याउनुपर्ने प्रावधानअनुसार नयाँ दल दर्ताका लागि कम्तिमा ८ जना सांसद चाहिन्छ । असन्तुष्ट सांसद ८ जनाभन्दा बढी रहेको नेताहरु बताउँछन् । उपेन्द्रले आफ्नो रवैया नफेरे पार्टी फुट्ने निश्चित भएको असन्तुष्ट समूहका एक नेताले बताए । नयाँ पार्टीको नेतृत्व बाबुरामले गर्न सक्ने सम्भावना पनि छ ।

गठबन्धन सरकारमा अहिले राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, महिन्द्र राय यादव कृषि तथा पशुपक्षी विकास र रामसहायप्रसाद यादव वन तथा वातावरणमन्त्री छन् । उनीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने उपेन्द्रको आश्वासन पूरा भएको छैन । नयाँ मन्त्रीका लागि प्रमोद साह, प्रदीप यादव, राजकिशोर यादव, मृगेन्द्र यादव र अमृता अग्रहरीको नाम चर्चामा छ ।