गगन थापासंग चुनाव लड्दै सेयर सुन्दरी राधा

काठमाडौं – सेयर बजारमा सेयर सुन्दरीको रुपमा परिचित नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल आगामी प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन लड्ने तयारी गरेकी छन्। स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरुलाई खुलेर साथ र सहयोग गरी पोखरेल संघीय संसदको निर्वाचन लड्न लागेकी हुन् ।

उनले चर्चित नेता तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र रोजेकी छन् । पोखरेल ४ नं क्षेत्रकै मतदाता समेत रहेकी उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी चुनाव लड्न लागेकी हुन् ।

पोखरेल निकट स्रोतका अनुसार उनले संसदीय चुनाव स्वतन्त्रबाट भिड्ने तयारी गर्दै भित्रभित्रै च्यानल तयार पारिसकेकी छन् । सेयर बजारका यावत समस्यालाई लिएर पोखरेल चार बर्षदेखि लगानीकर्ताको पक्षमा आवाज उठाउदै आएकी छन् ।

महिला तथा बालबालिका, आर्थिक, सामाजिक क्षेत्रमा रहेका विकृति विसंगतिलाई खरो रुपमा उठाउदै आएकी पोखरेल कोरोना, भुकम्प , बारा पर्सामा गएको हावा हुरी , बिभिन्न ठाँउमा गईरहने बाढी पहिरो लगाएतबाट पिडित मानिसलाई सामाजिक अभियान्ताको रुपमा सहयोग गर्दै आएकी थिइन् । स्नातकोत्तरसम्मको अध्यन पुरा गरेकी पोखरेल अब राजनीतिमा लागेर देश बनाउनका साथै सेयर बजारका समस्यालाई जरै देखि निर्मुल गर्ने बताउदै आएकि छिन् ।

स्रोतका अनुसार महानगरमा स्वतन्त्रबाट बालेन साहले शानदार जित हासिल गरेपछि लगानीकर्ताहरुवाट पोखरेललाई राजनीतिमा आउन देश विदेशबाट दबाब आइरहेको छ ।