काठमाडौं । सत्ता गठबन्धन मध्येको एउटा प्रमुख दल नेकपा एकीकृत समाजवादीले सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि गठबन्धनका दल र स्वयं पार्टी एकाएक तरंगित बन्यो ।
सिफारिस भएका नयाँ मन्त्रीहरूले शपथको समय कुरिरहँदा प्रधानमन्त्रीले अहिले मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय सुनाइदिए, पुरानै मन्त्रीहरूले यथावत् काम गरे । बाहिरबाट हेर्दा घटना यहींनिर रोकिए झैं लागे पनि नेकपा एकीकृत समाजवादी पार्टीभित्रको तरंग साम्य भइसकेको छैन ।
पार्टीका शीर्ष नेताहरूले आफ्नो निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बारम्बार ताकेता गरिरहेका छन् । बुधबार बिहान मात्रै पनि प्रधानमन्त्रीलाई भेटेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छन् । उसो त यो गठबन्धनसँग नेकपा एकीकृत समाजवादीको थुप्रै आक्रोश र असन्तुष्टि बाहिर आएका छन् ।
यही सन्दर्भको वरिपरि रहेर अनलाइनखबरले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग गरेको कुराकानीको सम्पादित अंश :
तपाईंहरुको पार्टीको हालखबर के छ ?
पार्टी ठीकै छ । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भयो । जुन परिणामहरू आए त्यो आधारमा मान्छेहरू आ-आफ्ना समीक्षा गर्दैछन् । हामी पनि समीक्षा गर्दैछौं । स्थानीय तह निर्वाचनको परिणामलाई गहिरो गरी अध्ययन गरेर निर्मम ढंगले समीक्षा गर्नुपर्छ भन्ने लागेको छ ।
स्थानीय तहको चुनावबारे समीक्षा गर्दैगर्दा अर्काे चुनावको मिति नजिक आइसक्छ । समीक्षा गर्ने हो कि आउँदो चुनावको तयारी ?
दुइटै कुरा गर्नुपर्छ । समीक्षा नगरी अर्काे चुनावको तयारी हुन सक्दैन । त्योभन्दा पहिले त हामीले स्थानीय निर्वाचनको नतिजाले के भन्दैछ, जनमानसमा जनताको आकांक्षा के रहेछन् भन्ने यो निर्वाचनले पनि केही न केही प्रकट गरेको छ । यो सबै चिजलाई राम्रोसँग अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्छ ।
अहिलेसम्मको विश्लेषण के हो ?
स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन भनियो । पाँच दलका बीचमा गठबन्धन हुन सकेन । विशेष गरी नेपाली कांग्रेस र नेकपा माओवादीबीच धेरै ठाउँमा गठबन्धन भएको देखियो ।
स्वयम् नेपाली कांग्रेस र माओवादीले कतिपय ठाउँमा एमालेसँग गठबन्धन गरेको देखियो । जे निर्णय भयो त्यसलाई प्रमुख दलहरूले पालना गरेको देखिएन । पालना गर्ने इमानदार पार्टी हाम्रो मात्रै भयो । हामीले धेरैजसो ठाउँमा उम्मेदवार उठाउन पनि पाएनौं । धेरै ठाउँमा भोटर मात्रै बन्न पायौं ।