आफू राष्ट्रपति बनेर प्रचण्डलाई प्रधानमन्त्री छाड्लान् देउवा ?

राजनीतिमा चासो राख्नेहरूमा कात्तिक–मंसिर या फागुनमा हुने चुनावमा कस्तो समीकरण बन्ला र चुनावपछिको सरकार कस्तो होला भन्ने विषयलाई लिएर कौतुहल शुरू भएको छ । चुनावको मिति घोषणा नहुँदै कतिपय स्वतन्त्र व्यक्ति र कतिपय नेताहरूले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । चुनाव घोषणा गर्ने हैसियतमा रहेका सत्ता गठबन्धनका नेताहरू भने चुनावपछिको आफ्नो भूमिका र हैसियतबारे जोखाना हेरिरहेका छन् ।

चुनावपूर्व नै दुई पूर्व प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल)ले आफूलाई प्रधानमन्त्रीको अफर गरिएको भनेर राजनीतिक बजारमा मोलमोलाइ शुरू गरेका छन् ।

प्रधानमन्त्री कसले अफर गरेको भनेर उनीहरूले खुलाएका छैनन्, तर अर्को पक्षले भने अफर नगरिएको प्रस्टीकरण दिइरहेको छ । सरकारको नेतृत्व गरिरहेको, सत्ता गठबन्धनमा रहेको, प्रतिपक्षमा पुगेको र पहिलोपटक चुनाव फेस गर्दै गरेको सबै खालका राजनीतिक शक्तिले मंसिरको चुनाव र त्यसपछिको समीकरणको हिसाबकिताब गरिरहेका छन् ।

पाँच वर्षका लागि सरकार चुन्ने संसद्को चुनावमा अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धन एक भएर जाला कि फेरि वाम गठबन्धन बन्ला भन्ने विषय पेचिलो बनेको छ । राष्ट्रिय चुनावमा कस्तो गठबन्धन बन्छ भन्ने साँचो माओवादीको हातमा छ । चुनावअघि या पछि माओवादी जता ढल्किदिन्छ उसैको पल्लाभारी हुने सम्भावना छ ।

घुर्कीपूर्ण चेतावनी दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अहंकार बढ्यो भने उसको हालत एमालेको जस्तै हुन्छ भनेर दिएको अभिव्यक्तिले कांग्रेसमा समेत हलचल मच्चाइदियो । ‘आफ्ना कार्यकर्तालाई उत्साहित बनाउन र कांग्रेससँग धेरै सीट दाबी गर्नको लागि प्रचण्डको बार्गेनिङ बुझ्न कठिन छैन,’ कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा भन्छन् ।

स्थानीय तह चुनावमा पाएको सीट संख्याका कारण मंसिरपछिको सत्ता समीकरणमा माओवादी निर्णायक मानिएको छ । नेकपा एमालेले औपचारिक रूपमा केही निर्णय गरेको छैन/भनेको छैन । कांग्रेसले भने मंसिरको चुनावमा यही गठबन्धन अगाडि बढ्ने बताएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी प्रवक्ता प्रकाशशरण महतले पटक–पटक यो कुरा भनेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी बाह्य खपतका लागि प्रचण्डले जेसुकै भनेको भएपनि मंसिरको चुनावसम्म अहिलेको गठबन्धन कायम रहने बताउँछन् । ‘हुन त स्थानीय तहको चुनावमा कतिपय स्थानमा इमान्दारीपूर्वक तालमेल भएन, जिसस गठनमा पनि गठबन्धन बाहिरका दलसँग तालमेल प्रयास भए, तर पनि प्रतिनिधि सभा चुनावमा गठबन्धनका दलबीच नै तालमेल हुन्छ,’ सिवाकोटीले भने, ‘पछिल्लोपटक कुरा हुँदा पनि सभापतिले मिलरै जानुपर्छ भन्ने कुरा गर्नुभएको थियो ।’

कांग्रेसका अन्य नेताहरूको बुझाइ पनि उस्तै छ– प्रधानमन्त्रीको अफर आएको भन्दै कांग्रेसलाई धम्की दिने प्रचण्डको ट्याक्टिस धेरै सीटको दाबी गर्ने अस्त्र हो । प्रतिनिधि सभामा प्रत्यक्षतर्फका १६५ सीटमध्ये माओवादी एक्लैले आफूलाई ५० सीट र गठबन्धनका अन्य दललाई समेत गरेर आधा हिस्सा छाड्नुपर्ने प्रस्ताव गरेको उनीनिटक एक केन्द्रीय सदस्यले लोकान्तरलाई बताए ।

‘सम्मानजनक तालमेलका लागि कांग्रेसले ५० प्रतिशत सीट छाड्नुपर्छ भन्ने पार्टीको प्रस्ताव छ, ३० प्रतिशत आफूले राखेर दश/दश प्रतिशत नेकपा एस र जसपालाई दिने प्रचण्डको प्रस्ताव छ,’ ती केन्द्रीय सदस्यले भने ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा माओवादीले एमालेसँग ४० प्रतिशत हिस्सा लिएर चुनाव लडेको थियो । प्रत्यक्षमा कांग्रेसले २३ सीट जित्दा माओवादीले ३६ सीट पाएको थियो ।

देउवा पनि माओवादी र गठबन्धनलाई सम्मानजनक हिस्सा दिन तयार रहेको कांग्रेस स्रोत बताउँछ ।

गठबन्धन जोगाउन एकाध सीट तलमाथि भएपनि ५० प्रतिशत हिस्सा छाड्न कांग्रेस तयार रहने स्रोतहरू बताउँछन् । २०७४ सालको चुनावमा वामपन्थी गठबन्धनका कारण कांग्रेसले पराजयको झट्का व्यहोरेको थियो ।

पराजयको बदला लिनका लागि देउवाले माओवादीलाई रिझाउने रणनीति बनाएका छन् ।

कुनै पनि हालतमा प्रचण्डलाई वामपन्थी गठबन्धनमा जान नदिन उनले स्थानीय तह निर्वाचनमा माओवादीले दाबी गरेअनुसार महानगर र उपमहानगरमा हिस्सा दिएका थिए ।