मन्त्री पद जाने भएपछि प्रेम आले र किसान श्रेष्ठले सुटुक्क भेटे देउवालाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । श्रममन्त्री कृष्ण श्रेष्ठ ुकिसानु र पर्यटनमन्त्री प्रेम आले लगायत मन्त्रीहरुले देउवासँग भेटेरै चुनावी मिति घोषणा गर्न प्रस्ताव गरेका बालुवाटार स्रोतले जनाएको छ ।

उनीहरुले देउवालाई संघीय र प्रदेशको चुनावको मिति घोषणा गर्न सुझाव दिएकाका र चुनावी गठबन्धनबारे पनि छलफल भएको स्रोतले दाबी गरेको छ ।

चुनाव घोषणा भइसकेपछि मन्त्री फेरबदल गर्न नमिल्ने भएकोले उनीहरुले प्रधानमन्त्रीसँग छिटो चुनावको मिति घोषणा गर्न सुझाव दिएका बताइएको छ ।

एकीकृत समाजवादीको आइतबार बसेको सचिवालयको बैठकले ४ मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो। तर बजेटमाथि संसदमा छलफल भइरहेकोले तत्कालै मन्त्री फेरबदल गर्न नहुँने भन्दै प्रधानमन्त्री देउवा रोकिएका छन् ।

बुधबार मात्रै मन्त्री हुन तम्तयार समाजवादीका सांसद मेटमणि चौधरीले बिहीबार नै आफूहरुले शपथ लिने ग्यारेन्टी रहेको बताएका थिए।

मन्त्री पद जोगाउने गरी प्रेम आले र किसान श्रेष्ठले चुनावको मिति घोषणा गर्न प्रस्ताव गरेका हुन्। प्रधानमन्त्रीले समय मागेपछि शपथ रोकिएको अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

स्रोतका अनुसार एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र पनि दबाब छ। अहिले एकीकृत समाजवादीकै नेताहरुको प्रस्तावमा अन्य पार्टीका मन्त्रीहरुले पनि साथ दिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार सरकारमा रहेका कांग्रेस, माओवादी केन्द्र र जसपाका मन्त्रीहरु पनि ६ महिनाको लागि मन्त्री फेर्न नहुने पक्षमा उभिन थालेका छन्।

मंसिरमा संघ र प्रदेशको दुई चरणमा चुनाव गर्ने तयारी भइसकेको छ। त्यही मिति देखाएर अन्य पार्टीले मन्त्री फेरबदल गर्न नहुने लबिङ गर्न थालेका हुन्।