फोहोर व्यवस्थापन बालेनको टाउकोमा हालेर किन पन्छिदैछ सरकार ?

काठमाडौं – नेकपा एमालेका सांसद् भीम रावलले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन्। प्रतिनिधि सभामा बोल्दै रावलले फोहोर व्यवस्थापनमा सरकारले दायित्वबोध गर्नुपर्ने बताए।

फोहोर व्यवस्थापनको दायित्वलाई सरकारले नगरपालिकाको टाउकोमा हालेर आनन्दले बस्न मिल्छ? भन्दै उनले प्रश्न गरे। ‘आम जनताको स्वास्थ्य गम्भीर संकटमा परिरहेको छ। अनि यो व्यवस्थापन गर्न नसक्ने सरकारले म कृषिमा आत्मनिर्भर हुन्छु भनेको पत्याइन्छ? यस्ता गफहरुले हुन्छ?’, उनले प्रश्न गरे।

रावलले सबैभन्दा पहिले काठमाडौंको फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे। ‘जनताको स्वास्थ्य यति गम्भीर हुँदा चुप लागेर बस्ने अनि अर्थतन्त्रमा ठूल्‌ठूला काम गरेर चमत्कार गर्छौँ भन्ने? यो त जनतालाई सरासर भ्रममा राख्ने एक प्रकारको निरर्थक अभ्यास भएन र?’, उनले भने।

यस्तै रावलले नेपालमा अमेरिकी सेना तैनाथी गर्ने सम्झौता अगाडि बढाइन लागेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘दिनदिनै सुनिराछौं, अमेरिकाका सेनाका प्रमुख आउने रे ! एसिया प्रशान्त क्षेत्रका प्रमुख । यहाँका सेना अमेरिका जाने रे !,’ सांसद रावलले भने,‘यहाँ के हुँदैछ ? रक्षामन्त्री समेत रहेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई म सोध्न चाहन्छु ।’ हिन्द-प्रशान्त रणनीति अन्तर्गत सैनिक तैनाथी सम्झौता अर्थात ‘सोफा’ अगाडि बढाउने यसो गरिरहेको उनले दाबी गरे ।

‘एमसिसी सम्झौता पारित गर्दा हिन्द-प्रशान्त रणनीति अन्तर्गत सैनिक तैनाथी सम्झौता अर्थात ‘सोफा’ अगाडि बढाउने र केही समय अगाडि सुरु गरिएको साझेदारी सम्झौता भित्रभित्रै गर्नका लागि यो सम्पूर्ण चाँजोपाँजो मिलाइदैछ भन्ने मैले सुनेको छु,’ उनले भने ।