श्रीमतीलाई जन्मदिनको उपहार– आफू प्रअ रहेको सरकारी स्कूलमा शिक्षिकाको जागिर

धनुषामा एक प्रधानाध्यापकले श्रीमतीलाई खुशी पार्न जन्मदिनमा आफ्नै स्कूलमा शिक्षिकाको जागिर उपहारस्वरूप दिएको पाइएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित श्री माध्यमिक विद्यालय इच्छापुरका प्रधानाध्यापक बैकुण्ठकुमार श्रेष्ठले आफ्नो श्रीमती मोहमाया श्रेष्ठलाई जन्मदिनमा शिक्षिकाको जागिर दिएर फेसबूकबाटै बधाई समेत दिएका थिए ।

श्रीमतीलाई जन्मदिनको शुभकामना दिँदै प्रअ श्रेष्ठले सामजिक सञ्जालमा लेखेका छन् – ‘जन्मदिनको उपलक्ष्यमा ठूल्ठूला उपहार त दिन सकिनँ । ठूलो जिम्मेवारी दिएको छु । आफ्नो प्रतिभा, क्षमता र योग्यतालाई प्रस्फुटन गर्दै माविस्तरमा शिक्षण गर्न पाएको अवसरलाई सही सदुपयोग गर्नू । आफूले पाएको जिम्मेवारीलाई अवसर ठानी शतप्रतिशत दिनू भन्दै श्री मावि इच्छापुरमा जागिरमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना श्रीमतीज्यू,’

विज्ञापन आह्वान नै नगरी अध्यापन लाइसेन्स समेत नभएकी आफ्नी श्रीमतीसहित अन्यलाई जागिर खुवाउन नियम, प्रक्रिया समेत मिचेर प्रअ श्रेष्ठले आफ्नो श्रीमती मोहमायासहित अन्यलाई शिक्षक पदमा नियुक्त गरेको खुलेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामअशिष महतोसँग मिलेमतो गरी प्रअ श्रेष्ठले आफ्नो श्रीमती तथा अध्यक्ष महतोले आफ्नो नातागोतालाई प्राथमिक तह र माध्यमिक तहमा गैर कानूनी नियुक्ति दिएको खुलेको छ।

२०७८ पुस २९ गते निजी स्रोतबाट शिक्षक नियुक्त गर्नका लागि विद्यालयमा सूचना टाँस गरी लिइएको परीक्षाबाट श्रीमती उत्तीर्ण भएर आफ्नै हातबाट नियुक्ति लिएको र श्रीमतीलाई जन्मदिनको अवसरमा उपहारस्वरूप जागिर दिएको भनेर सामाजिक सञ्जालमा पनि लेखेको उनले स्वीकारेका छन् ।