सरकारबाटै जनता असुरक्षितः डा.महत

मंसिर २४ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेदेखि नेपाली जनताले असुरक्षित महसुस गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंको हात्तिगौंडामा मंगलबार कांग्रेसका स्वर्गीय नेता चक्रबहादुर केसीको शोक सभालाई सम्बोधन गर्दै सहमहामन्त्री महतले ओली नेतृत्वको सरकार गठन भएदेखि देशमा हत्या–हिंसा बढ्दै गएको दाबी गरे ।

उनले बाँकेको कोहलपुरमा आइतबार भएको प्रहरी ज्यादतीको पनि बिरोध गरे । स्कुलले बालिकाको खुट्टा किच्ने ट्रक चालकलाई समात्न छोडेर प्रहरीले विद्यालय हाताभित्र प्रवेश गरेर विद्यार्थी र शिक्षकमाथि लाठीचार्ज गरेर निन्दनीय काम गरेको महतको भनाइ थियो ।

सहमहामन्त्री महतले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन केसीले गरेको संघर्षको स्मरण पनि गरे । राणा, पञ्चायत र राजालाई कांग्रेसले हटाए पनि अझै अधिकारका लागि संघर्ष जारी भएको उनले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.