संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

२४ मङि्सर ,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसका आधारमा पुस ४ मा संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेकी छिन् । हिजो (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन ४ पुसमा बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेपछि त्यसको तयारी भएको हो ।

संविधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आव्हान र समापन गर्ने ब्यवस्था छ । संसदमा संसदकै महिला कर्मचारीलाई बलात्कार प्रयासमा सभामुख कृष्णबहादुर महरा मुछिएपछि उनी पदमुक्त भएका छन् । महराले अयिभोग लागेपछि राजीनामा दिएका थिए । उनी अहिले अनुसन्धानको क्रममा पूर्पक्षका लागि जेलमा छन् ।

असोज दोश्रो साता देखि संसदमा सभामुख नहँुदा संसदीय कतिपय प्रक्रिया रोकिएका छन् । संसदबाट पारित विधेयक प्रमाणिकरण, संसदीय समितिको अध्ययन तथा भ्रमण, संसद सचिवालयको प्रशासनिक काम रोकिएका छन् ।

उपसभामुख रहेपनि सभामुख रिक्त रहँदा उपसभामुखले गर्ने कामको बारेमा संविधानमा केही उल्लेख नभएकोले संसदीय काम प्रभावित भईरहेको छ । अब बोलाइने संसदको हिउँदे अधिवेशनबाटै नयाँ सभामुख चयन प्रक्रिया संसदले थाल्नेछ । सरकारले यो प्रक्रिया ढिलाई गरिरहेको प्रतिपक्षले आरोप लगाईरहेका बेला सरकारले ४ पुसका लागि संसद अधिवशेन बोलाउने गरी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमबारको क्याबिनेट बैठकले गरेको निर्णयका आधारमा सिफारिस पत्र राष्ट्रपति कँहा पुगिसकेको छ । सम्भवतः आजै (मंगलबार) बेलुका नभए भोलिसम्ममा राष्ट्रपतिले संसदको हिउँदे अधिवेशन डाँक्ने तयारी भईरहेको छ । सामान्यतयाः संसदको हिउँदे अधिवेशन पुस देखि फागुनसम्म डाँक्ने गरिएको यस अगाडीको परम्परा रहिआएको छ । संसदमा हिउँदे र बर्खे (बजेट) अधिवशेन गरी दुई पटक संसद बैठक वर्षमा बोलाउने प्रचलन रहिआएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.