विवादका कारण स्थगित साँफेबगरमा आज पुनःमतदान

अछाम। अछामको साँफेबगर नगरपालिका–१३ को राष्ट्रिय मावि, बाबलामा आज पुनः मतदान भइरहेको छ । मतदानका क्रममा हालसम्म शान्तिपूर्ण वातावरण कायम रहेको जनाइएको छ । गत वैशाख ३० गतेको मतदानमा हुलदङ्गा र विवादका कारण त्यहाँ पुनः मतदानको मिति तय गरिएको हो ।वैशाख ३० गते देशभरका स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सञ्चालन भएकामा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई स्थगित हुन पुगेका अधिकांश केन्द्रमा मतदान सम्पन्न भइसकेको छ ।

स्थगन भएका ८५ केन्द्रमध्ये उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं १२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे आयोगबाट निर्णय हुन बाँकी छ । बूढीगङ्गा नगरपालिको मतदानबारे छानबिन गर्न निर्वाचन आयोगले आयुक्त सगुनशम्शेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सातै पालिकाको नतिजा सार्वजनिक
परासी, ६ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली कांग्रेसले तीन÷तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने कांग्रेसले तीन, एमालेले दुई, तथा माओवादी केन्द्र र राप्रपाले एक÷एक स्थानीय तहमा जितेका छन् ।

पाल्हीनन्दन गाउँपालिकाको मतगणना आज बिहान सकिएसँगै जिल्लाका सातवटै स्थानीय तहको नतिजा सार्वजनिक भएको हो । अघिल्लो निर्वाचनमा चार स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले यसपटक एउटा नेतृत्व गुमाएको छ भने दुई स्थानीय तहको नेतृत्व जितेको एमालेले यसपटक थप एक जोड्न सफल भएको छ । माओवादी केन्द्रले भने एउटा स्थानीय तह जितेकामा अहिले पनि दोहोराएको छ ।

उपप्रमुखमा यसअघिको निर्वाचनमा कांग्रेसले चार स्थानीय तहमा जितेकोमा यसपटक तीनवटामा खुम्चिएको छ भने एमालेले अघिल्लो पटक तीन स्थानीय तहमा जितेकोमा यसपटक दुईमा झरेको छ । माओवादी केन्द्रले भने अघिल्लो पटक उपप्रमुखमा विजयी हासिल नगरे पनि यसपटक एउटा स्थानीय तहको उपप्रमुखमा जितेको छ । अघिल्लो पटक नेतृत्वमै नरहेको राप्रपाले यसपटक एउटा स्थानीय तहको उपप्रमुख जित्न सफल भएको छ ।

जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । एमालेले रामग्राम नगरपालिकामा प्रमुख, सुनवल नगरपालिका र सरावल गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने कांग्रेसले बर्दघाट नगरपालिकामा प्रमुख, पाल्हीनन्दन गाउँपालिकामा उपप्रमुख, प्रतापपुर र सुस्ता गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ । माओवादी केन्द्रले पाल्हीनन्दन गाउँपालिकाको प्रमुख र बर्दघाट नगरपालिकाको उपप्रमुख जितेको छ भने राप्रपाले रामग्राम नगरपालिकाको उपप्रमुख जितेको छ । दुई लाख ३७ हजार १२५ मतदाता रहेको जिल्लामा ७७.७६ प्रतिशत अर्थात् एक लाख ८४ हजार ३८२ मत खसेको थियो ।