हार्दिक पटेलले पार्टीबाट राजीनामा दिए

काठमाडौं । गुजरातमा कांग्रेस नेता हार्दिक पटेलले पार्टीबाट राजीनामा दिएका छन्। हार्दिक पटेलले ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।उनले ट्विट गर्दै भनेका छन्, ‘आज म साहसका साथ कांग्रेस पार्टी र पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिन्छु । म विश्वस्त छु कि मेरो निर्णयलाई मेरा सबै सहकर्मी र गुजरातका जनताले स्वागत गर्नेछन्। मलाई विश्वास छ कि मेरो यो कदमपछि म भविष्यमा गुजरातको लागि साँच्चै सकारात्मक काम गर्न सक्षम हुनेछु।’

हार्दिक पटेल लामो समयदेखि कांग्रेस पार्टीसँग रिसाउँदै आएका थिए । अप्रिल महिनामा पनि उनले कांग्रेसबारे टिप्पणी गरेका थिए । हार्दिक पटेलले आफ्नो अवस्था पार्टीमा बन्ध्याकरण गरिदिएको नयाँ दुलहाको जस्तै भएको बताएका थिए ।पार्टीले बेवास्ता गरेको आरोप लगाउँदै हार्दिक पटेलले भनेका थिए, “मलाई प्रदेश कांग्रेस कमिटीको कुनै पनि बैठकमा निमन्त्रणा गरिएको छैन, उनीहरूले कुनै निर्णय लिनुअघि मसँग परामर्श गर्दैनन्, तब यो पदको के अर्थ छ।”

हार्दिक पटेलले भने, “हालसालै उनीहरू (कांग्रेस)ले राज्यमा ७५ नयाँ महासचिव र २५ नयाँ उपाध्यक्षहरूको नाम घोषणा गरे। के उनीहरूले मलाई एक पटक पनि सोधे, हार्दिक भाइ, के तपाईंलाई लाग्छ कि यो सूचीबाट कुनै बलियो नेता हराइरहेको छ?”

कोहलपुरको नमूना बसपार्क सञ्चालनमा आउने
राँझा, ४ जेठ । कोहलपुरमा निर्माणाधीन लामो दूरीको नमूना बसपार्क दसैँ अगाडि नै सञ्चालनमा आउने भएको छ । बसपार्कको टर्मिनल भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य सहायक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् ।दसैँअघि पूर्णरुपमा सञ्चालनमा आउने गरी बसपार्कको संरचना निर्माण कार्य भइरहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार, बसपार्कको टर्मिनल भवन रङ्गरोगन गर्न बाहेक अरु काम आंशिक रुपमा सम्पन्न भएको छ । लामो दूरीका बस छुट्ने गरी निर्माण गरिएको सो बसपार्कभित्र अत्याधुनिक शौचालय, स्वास्थ्य जाँचको व्यवस्था र प्रहरीको युनिटसमेत रहने छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले आप्mनो कार्यकालका लागि बसपार्क निर्माण निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नगरपालिकाको यथेष्ट बजेट नभए पनि कोहलपुर नगरविकास समितिको ऋण सहयोगले समयमै बसपार्क निर्माण गर्न सकिएको उल्लेख गर्नुभयो ।कोहलपुरमा अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले लामोदूरीमा सञ्चालन हुने बसको लागि कोहलपुर चौराह नजिकै नेपालकै नमूना अत्याधुनिक बसपार्क निर्माण थालिएको हो । उहाँका अनुसार, २०७७ फागुन २४ गते रु २७ करोड ८४ लाख ६६ हजारमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको हो । बसपार्क निर्माणको लागि कूल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम विनियोजन गरिएको छ । पाँच बिघा १६ कठ्ठामा निर्माण भइरहेको बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको छ ।

निर्माण व्यवसायी टेकबहादुर खडकाले तोकिएको सम्झौता अवधि अगावै उक्त बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिने बताउनुभयो । उहाँका अनुसार, अत्याधुनिक कोहलपुर बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्स सहितको हुनेछ । पाँच तलाको सपिङ् कम्प्लेक्ससहितको निर्माणाधीन कोहलपुर बसपार्क नेपालकै अत्याधुनिक बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर बालकृष्ण महतराले बताउनुभयो । अहिलेसम्म निर्माण कार्य प्रगति हेर्दा समयमै सम्पन्न हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

कोहलपुर बसपार्कलाई नगरपालिकाले गौरवको योजनाका रुपमा अगाडि सारेको कार्यपालिका सदस्य एवं आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताउनुभयो । बसपार्क निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधिलेसमेत आवश्यक अनुगमन तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएको उहाँको भनाइ छ ।