नेता नेपाल र भारतीय राजदूत पुरीबीच भेट

२३ मंसिर काठमाडौं/ नेकपा नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेट वार्ता भएको छ ।

नेकपाका विदेश मामला विभाग प्रमुखसमेत रहेका नेता नेपाललाई भेट्न पुरी कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । भेटमा राजदूत पुरीले आफ्नो नेपाल बसाइ पूरा हुन लागेको र यसबीचमा आफ्ना कार्यकालको चर्चा गरेका थिए ।

नेता नेपाल र राजदूत पुरीबीच नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भेटमा भारतले जारी गरेको पछिल्लो राजनीतिक नक्सा र सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा पनि नेता नेपाल र भारतीय राजदूत पुरीबीच अनौपचारिक छलफल भएको थियो ।

भारतले जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी सभावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । त्यसबाट उत्पन्न परिस्थितिका विषय छलफल गर्न नेता नेपाल सरकारको विशेष दूतका रुपमा दिल्ली जाने तयारी भएको थियो ।

भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय नमिलेपछि नेता नेपालको दिल्ली भ्रमण रोकिएको समाचारहरु सार्वजनिक भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.