बैतडी डोजरकाण्ड : घाइते गौरीलाई थप उपचारका लागि भारत लगियो

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । धनगढी र नेपालगञ्जमा उपचारपछि पनि गौरी बेहोस हुने समस्या ठिक नभएपछि थप उपचारका लागि भारततर्फ लगिएको उनका श्रीमान् जगदीश जोशीले बताए ।

नेपालगञ्जमा औषधि दिएर दश दिनपछि आउनु भनेर डिस्चार्ज गरेको र तर गौरीलाई फर्किने बेला बाटोमै असहज भएकाले थप उपचारका लागि भारत लगेको उनले बताए । नेपालगञ्जबाट फिर्ता हुँदा उनी बेहोस हुन थालेपछि भारत लैजान लागेको जोशीले जानकारी दिए।

आफूलाई गौरीको उपचार खर्च जोहो गर्न निकै मुस्किल भएको उनले बताए । उनले भने, ‘आमा घरमा नहुँदा बालबालिका रोइरहेका छन् । म पनि पैसा खोजेर महेन्द्रनगर जाँदैछु। दाजु बिसनदत्त जोशी उपचारका लागि साथमा जानु भएको छ।’

घरमा दुई नाबालक छोरा रहेको र उनीहरुको हेरविचार गर्ने कोही नभएको दुखेसो पोखे। यही कार्तिक ४ गते चिलाउने- पार्स सडक खन्ने बेलामा डोजरले हुत्याउँदा गौरी घाइते भएकी थिइन्।गौरीलाई डोजरले हुत्याउने डोजर चालक किशोर बोहरा, डोजर मालिका भानीदत्त जोशी र स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झडपमा दुवै पक्षमा अन्य सातजना समान्य घाइते भएका थिए । उनीहरु समान्य उपचारपछि घर फर्किसकेका छन् ।

1 Comment

Leave a Reply

Your email address will not be published.