रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

काठमाडाैं । राप्रपा नेपालकी नेता तथा नायिका रेखा थापा पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन् । आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।काठमाडौँको भृकुटीमण्डपमा भइरहेको राप्रपा नेपालको उद्घाटन कार्यक्रमपछि आजै बेलुकाबाट बन्दसत्रको कार्यक्रम हुने तय भएको छ । उम्मदेवारी मनोनयन, दर्ता र निर्वाचनलगायतका कार्यक्रम भने बिहीबार हुनेछ ।राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री समेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन् । रेखा थापा लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारीमा छिन् । महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयर समेत रहेका नेता धवल शम्शेर राणा पनि आकांक्षी छन् ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौँ, १५ मङ्सिर।नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी समावेशी दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उहाँले पार्टीका नेता र साथीहरूसँग छलफल गरी केन्द्रीय कार्यसमितिमा बसेर पार्टीको भावी कार्यदिशाबारे योगदान गर्न सक्छु भन्ने उद्देश्यले उम्मेदवारी दिने निधो गरेको बताउनुभयो । नेपाल दलित सङ्घका पूर्वकेन्द्रीय महासचिव रसाइली विद्यार्थी कालबाटै कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ ।

उहाँले कांग्रेसमा सामान्य नागरिकका मुद्दा उठाउन आफूले उम्मेदवारी दिएको बताउँदै कांग्रेसले निम्न आय भएका तथा सुकुम्वासी, भूमिहीन, दलित, मजदूर वर्गका मुद्दालाई उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।युवा नेता रसाइली २०७४ सालको संसदीय निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक सङ्घीय सांसद हुनुहुन्छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।