भारी मतान्तरले नेकपा एमालेको अध्यक्षमा ओली पुनः निर्वाचित

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।नेतृत्व चयनका लागि भएको निर्वाचनमा वर्तमान उपाध्यक्ष डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष विजयी बनेका हुन् ।

ओलीले १८०८ मत पाएर अध्यक्षमा विजयी बनेका छन् भने उनका प्रत्यासी रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।केन्द्रीय निर्वाचन आयोगले केही बेरमा औपचारिक घोषणा गर्दैछन् । नेकपा एमालेमा नेतृत्व चयनका लागि पहिलोपटक विद्युतीय मतदान मेसिन प्रयोग गरिएको थियो ।

अध्यक्ष ओलीले सहमतिका लागि ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम घोषणा गरे पनि रावलसहित केही नेताहरुले असन्तुष्टि जनाएपछि विवादित केही पदाधिकारीसहितका पदमा निर्वाचन भएको थियो । मंगलबार विहान मतदान भएको थियो । जम्मा २ हजार १५३ मतदातामध्ये २ हजार ९६ मत खसेको आयोगले जनाएको छ ।

नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा पनि सर्वसहमतबाट रावललाई उपाध्यक्ष पद दिने ओलीले प्रस्ताव गरेका थिए । तर ओलीको प्रस्तावलाई अस्वीकार गर्दै रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।