विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरिएन्टको बारेमा जारी गर्‍यो आधिकारिक चेतावनी

काठमाडौं। विश्वभर कोरोनाभाइरसको नयाँ ओमिक्रोन भेरिएन्टको त्रास बढ्दै गइरहेको छ । अहिलेसम्म कोरोनाको डेल्टा भेरिएन्ट सबैभन्दा खतरनाक मानिँदै आएकोमा नयाँ ओमिक्रोन भेरिएन्टलाई त्योभन्दा पनि खतरनाक मानिएको छ । अहिलेसम्म प्राप्त डाटाको आधारमा विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरिएन्टलाई ‘अत्यन्तै उच्च जोखिम’ वर्गमा राखेको छ । डब्लुएचओका अनुसार यो नयाँ भेरिएन्टको म्युटेशनको परिणाम गम्भीर हुन सक्छ ।ओमिक्रोन भेरिएन्टको पहिचान सबैभन्दा पहिले दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले गरेका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सीले जारी गरेको एक रिपोर्टमा ओमिक्रोन भेरिएन्टका विषयमा डब्लुएचओले जारी गरेको बयानलाई बलियो र सबैभन्दा स्पष्ट चेतावनी मानिएको छ । वैज्ञानिकहरु यो नयाँ भेरिएन्ट मानिसहरुको लागि कति खतरनाक हुन सक्छ भन्ने पत्ता लगाउने काममा जुटेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार ओमिक्रोनको विषयमा अहिलेसम्म कुनै पनि कुरा सही तरिकाले स्पष्ट छैन । तर, प्रारम्भिक प्रमाणले यो भेरिएन्टका म्युटेशनहरु मानिसको प्रतिरक्षा प्रणालीको प्रतिरोधबाट बच्न सक्ने सम्भावना बढ्दो देखिएको छ । यसका म्युटेशनले एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने क्षमता पनि बढाउने देखिएको छ ।डब्लुएचओले भनेको छ ‘यी म्युटेशनका आधारमा भन्न सकिन्छ कि यसका कारण भविष्यमा कोभिड–१९ का केसहरुमा उछाल आउन सक्छ । यसका गम्भीर परिणाम हुन सक्छन् । यो कैयौं कुराहरुमा निर्भर गर्छ जस्तो कि कुन ठाउँमा यसका केसहरु बढिरहेका छन् । समग्रमा भन्दा विश्व यतिबेला उच्च जोखिममा छ ।’

डब्लुएचओले अहिले वैज्ञानिकहरु यो भेरिएन्टलाई राम्रोसँग बुझ्ने काममा जुटेको भए पनि सबै देशहरुले खोप अभियानलाई बढावा दिनुपर्ने बताएको छ । अहिलेसम्म ओमिक्रोन भेरिएन्टबाट कसैको मृत्यु भएको केस भेटिएको छैन । यो कत्तिको संक्रामक छ, बिरामीलाई कति गम्भीर बनाउन सक्छ र खोप यो भेरिएन्टमाथि कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयमा वैज्ञानिकहरुले जानकारी जुटाइरहेका छन् ।लामो समयदेखि वैज्ञानिकहरुले खोप अभियान कमजोर भएका ठाउँहरुमा यो भाइरस फेरि फैलिन सक्ने चेतावनी दिँदै आएका छन् । यो नयाँ भेरिएन्ट अफ्रिकाको यस्तो क्षेत्रमा फैलिएको हो जहाँ केवल ७ प्रतिशत जनसंख्यालाई मात्रै खोप लगाइएको थियो । dcnepal