निर्वाचन आयोगले दियो उपेन्द्र पक्षलाई आधिकारिकता,

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।

सोमवार केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको हो ।

सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए। अर्का एक सदस्य रेशम चौधरी भने तटस्थ रहे ।

उपेन्द्रले जसपामा आधिकारिकता पाएसँगै आयोगले महन्थ पक्षलाई भने नयाँ दल दर्ताका लागि आउन भनेको छ ।

नयाँ पार्टी दर्ता गर्ने हो भने रीत पुर्‍याएर निवेदनसहित आउन महन्थ ठाकुर पक्षलाई आदेश भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो।

बहुमतभन्दा पनि बढी सदस्यले यादवको पक्षमा सनाखत गरेपछि आयोगले त्यस्तो निर्णय दिएको हो।

आयोगले कार्यकारिणी सदस्यको नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्र लिएर आउन यसअघि नै आदेश गरेको थियो।

उपेन्द्र यादवले दलको लेटरप्याड, चुनाव चिह्न, हस्ताक्षर आदिको दुरुपयोग हुँदा पार्टी सञ्चालन गर्न समस्या भएको भन्दै दलको आधिकारिकता पाऊँ भन्दै आयोगमा निवेदन दिएका थिए ।

अब दलको नाम, चिह्न, लेटरप्याड सबै उपेन्द्रको भएको छ ।lokantar