नागरिकको जीवन रक्षा राष्ट्रको पहिलो दायित्व : गृहमन्त्री

काठमाडौं । बाल अभियन्ता प्रेन्सा रेग्मीले समाजमा बढेको हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउनु पर्ने बताएकी छन् ।

आज गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर उनले जघन्य अपराधबाट मुक्ति दिँदै महिला र बालबालिकालाई सुरक्षा दिन कडा कानून बनाउन आग्रह गरेकी थिइन्।

समाजमा नकारात्मक प्रभाव धेरै परिरहेकोे बताउँदै अभियन्ता रेग्मीले साना बालबालिकालाई यस्ता अपराधबाट कसरी जोगिने भन्ने कुरा सानैदेखि सिकाउन र कडा कानून बनाएर अपराधीलाई कारबाही गर्नुपर्ने बताइन्।

“प्रहरी हाम्रो साथी भन्ने कुरा बालबालिकालाई बुझाउन आवश्यक छ”, रेग्मीले भनिन्, “अहिले त हामी जस्ता बालबालिका र महिला दिदीबहिनीलाई बाटोमा निस्किन डर लाग्छ, यो डर भगाउने गरी सरकारले कडा कानून ल्याएर काम गर्नुपर्‍यो।”

त्यस्तै गृहमन्त्री खाँडले सरकारले बालबालिका, महिला र युवाहरुको सोच, क्षमताबाट समाज बनाउन कसरी प्रेरित गर्ने भन्ने कुरा अबको आवश्यक्ता रहेको बताए ।

सबै नागरिकले आफ्नो जीवन स्वतन्त्र भएर जिउन पाउनुपर्ने बताउँदै गृहमन्त्री खाँडले सम्पूर्ण नागरिकको जीवन रक्षा राष्ट्रको पहिलो दायित्व भएको बताए ।

“राज्यको निर्माण नै नागरिकको जीवन रक्षाको लागि हो”,गृहमन्त्री खाँडले भने,”राज्य प्रणालीमा भएका कमीकमजोरीलाई सुधार्दै सुरक्षास्थितीलाई बलियो र सुदृढ बनाउने प्रयासमा सरकार लागेको छ ।”lokapth