वरिष्ठ नेता पौडेल; कांग्रेसको नेतृत्व परिवर्तन हुनु अत्यावश्यक छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् ।

शनिवार क्रियाशिल सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुगेका नेता पौडेलले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए ।

पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समुहबाट साझा उम्मेदवार बनाउने कोशिस भईरहेको पनि नेता पौडेलले बताए । समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एक जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले जानकारी दिए ।

अहिले आफुले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफु तयार रहेको उनको भनाई छ । तर आफुले कसैलाई छोड्नु अगाडि चित्त बुझ्दो कारण चाहिने उनको तर्क छ ।

उनले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशिल सदस्यताको विवाद असार मसान्त भित्र टुंगिने विश्वास आफुले लिएको बताए ।

भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलले बताए ।lokpath