एमालेमा एकताको प्रयास जारी : के भयो कुराकानी ?

काठमाडौं – नेकपा एमालेभित्र चर्किएको अन्तरसंघर्षले पार्टी फुटको डिलमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षीय नेताहरुबीच पार्टी एकतावद्ध बनाउने प्रयासलाई निरन्तरता दिइरहेका छन् ।

केहि दिनअघि पार्टी अध्यक्ष ओलीले जारी गरेको वक्तव्य र नेपाल पक्षले जारी गरेको जवाफरुपी प्रतिउत्तरले पार्टी एकता हुँने संभावना झिनो बन्दै गएका बेला नेकपा एमालेको एकताका लागि दुवै पक्षका दोस्रो तहका नेताहरुबीच वार्ता भइरहेको हो ।

सोमवार नेपाल पक्षीय स्थायी कमिटी बैठकअघि नेता नेपाल पक्षीय ४ जना नेताहरुबीच नेता सुरेन्द्र पाण्डे निवासमा भएको छलफलले पार्टी एकतालाई सघाउ पुर्याउन सकने आँकलन भइरहेका बेला नेता नेपालको प्रत्युत्तरका कारण फेरि संशय पैदा भएको स्थितीमा
मंगलबार साँझ होटल समिटमा दुवै पक्षका दोस्रो तहका नेताहरुबीच पार्टी एकताको प्रयासस्वरुप निकै लामो संवाद भएसँगै फेरि ग्रीन सिग्नल देखिएको छ ।

स्रोतका अनुसार मंगलवार ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल र नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए।

अध्यक्ष ओली र नेता नेपालको वक्तव्यबारे दोस्रो तहका नेताहरुबीचमा पार्टीमा देखिएको समस्या,पार्टीमा उत्पन्न भएको वैमनश्यता, एकता हुन नसक्नुको जड, समस्याको केन्द्र र समाधानको उपायका विषयमा छलफल भएको छ ।

बैठकमा सहभागि एक नेताले लोकपथसँग भने, ओली पक्षले २०७५ जेठ ३ पूर्व फर्किने प्रतिवद्धता जनाए पनि सहमतिमा नआएको भन्ने ओली पक्षको गुनासो पश्चात् नेपाल पक्षका नेताहरुले अध्यक्ष ओलीको प्रस्ताव जालझेलपूर्ण हुनसक्ने आशंका व्यक्त गर्दै थप प्रष्टता खोजेका थिए ।

छलफलमा ओली पक्षका नेताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट एमालेका तर्फबाट गएका सबै ‘सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान’ दोहोर्‍याएका छन्। तर नेपाल पक्षको तर्क अलि भिन्नै छ ।

उनीहरुको साझा मत छ, ‘संसद विघटनपछि रिट गएकोले विघटन फिर्ता भए हस्ताक्षर पनि स्वतः फिर्ता हुन्छ।’ यसअघि नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेको निवासमा बसेको बैठकमा पनि नेताहरुले पार्टी एकताको प्रयासलाई निरन्तरता दिनेबारे जोड दिएका थिए।lokpath