विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अब प्रदेश सरकारले जनताको पक्षमा द्रूत गतिमा काम गर्ने बताएका छन् ।

मंगलवार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले आफ्नो नेतृत्वको सरकारले प्रदेशको समृद्धिका लागि परिणाम देखिने गरी काम गर्ने बताएका हुन् ।

३ वर्षे कार्यकालको उपलब्धी देखिने समय पनि भइरहेका कारण प्रदेशसभाले आफूमाथि गरेको विश्वास कायम रहनेगरी जनताको पक्षमा द्रूत गतिमा सरकारले काम गर्ने उनको दाबी छ ।

यस्तै मुख्यमन्त्री भट्टले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने विषयमा समेत छलफल गर्ने बताएका छन् । विश्वासको विपक्षमा मतदान नगरेर कांग्रेसका १२ जना प्रदेशसभा सदस्य तटस्थ बसेको सन्दर्भमा राखिएको जिज्ञाशामा उनले भने, ‘कांग्रेसलाई सरकारमा ल्याउने विषयमा हामी छलफल गछौँ । त्यो कुरा पछि नै थाहा हुन्छ ।’

आफू लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति भएकाले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिएको बताउँदै पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यलाई धन्यवाद पनि दिएका छन् ।

मंगलवार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन् । उनको पक्षमा माओवादी केन्द्रका १३ र एमालेको माधव नेपाल समूहका १७ जना गरेर ३० मत खसेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ जना प्रदेशसभा सदस्य बैठकमा सहभागि भएपनि उनीहरुले मत हालेनन् । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय ७ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्यले विश्वासको प्रस्तावको विपक्षमा मत हालेका थिए ।

संविधान र लोकतन्त्रको रक्षाका लागि तटस्थ

मंगलवार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वास नपाउने अवस्थामा मात्र मतदान गर्ने निर्णय गरेको थियो । कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले संविधान र लोकतन्त्रको रक्षाका लागि यस्तो निर्णय लिएको बताएका छन् ।

‘संविधान र लोकतन्त्रको रक्षा गर्नू अहिलेको प्रमुख प्राथमिकता हो,’ रावलले भने, ‘देश भुटानीकरण हुने देखिएकाले हामीले अहिलेको सरकारको पक्ष र विपक्षमा भन्दा पनि तटस्थ बस्ने निर्णय गरेका हौँ ।’ तर रावललाई प्रदेशसभामा मुख्यमन्त्री भट्टले मत दिन आवश्यक नपर्ने संकेत गरेपछि उनीहरुले मतदानमा भाग नलिएका हुन् ।

पार्टी निर्देशन पालन गर्दै विपक्षमा मतदान

नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाधर भट्टले भने पार्टीको निर्देशनअनुसार मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेको बताएका छन् ।

‘पार्टीको स्थायी कमिटिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्थामा मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेको थियो,’ भट्टले भने, ‘सोही निर्देशनअनुसार हामीले विपक्षमा मतदान गरेका हौँ । हामी पार्टीका हौँ की संसदीय दलका हौँ भन्ने प्रश्न खडा भएको छ ।’

धेरै प्रदेशसभा सदस्यहरुले पार्टी नेतृत्वको निर्देशन उल्लङ्घन गरेका कारण दल प्रधान की संसदीय दल भन्ने प्रश्न खडा भएको भन्दै भट्टले संसदीय अभ्यासमा भोलीका दिनमा राजनीतिक दलबाट निर्वाचित सांसद नियन्त्रण बाहिर जाने थिती बस्ने उनको भनाई छ ।

मंगलवार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो । बैठकमा सहभागि ओली पक्षीय प्रदेशसभा सदस्य पठानसिंह बोहरा, नेपालु चौधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बोहरा, रतन थापा, बलदेव रेग्मीले फरक मत राख्न खोजेका थिए तर संसदीय दलका नेताले उनीहरुलाई फरक मत राख्न नदिएपछि निर्णयमा असहमती जनाएका थिए ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले समेत मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलको नेता र सचेतकलाई आग्रह गरेको थियो । तर संसदीय दलको बैठकमा भने माधव पक्षीय बहुमत सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा सहमति जनाएका थिए ।

सातजना सांसदद्धारा ‘फ्लोर क्रस’

केन्द्रमा दुई राजनीतिक ध्रुवमा उभिएका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा भने सत्ता साझेदार भूमिकामा कायम छन् । सोही सहकार्यका आधारमा मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत हासिल गरे ।

प्रदेशसभामा उसो त सत्तारुढ दुई दलका कुल ३७ (सभामुख बाहेक) सदस्य छन् । तर मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा ३० सांसदले मात्र मत दिए । नेकपा एमालेका सात सदस्यले प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेका हुन् । फ्लोर क्रस गर्ने सातजना ओली पक्षका सांसद हुन् ।

मंगलवार बिहान एमाले संसदीय दलको बैठकले विश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो । एमाले संसदीय दलकी सचेतक दुर्गा विकले ह्वीप उल्लंघन गर्ने ती ७ सांसदमाथि कानुन बमोजिम कारवाही हुने बताइन् ।

उनले भनिन्, ‘यस्तो होला भन्ने हामीले सोचेका थिएनौं । अब दलको बैठकले विधि, विधान र कानूनसम्मत ढंगले उनीहरुका बारेमा निर्णय गर्नेछ ।’

तर फ्लोर क्रस गर्ने मध्येकै एक सांसद लीलाधर भट्टले नेकपा एमालेको स्थायी कमिटीको निर्णय अनुसार नै प्रदेशसभामा विश्वासको मतको विपक्षमा आफूहरुले मतदान गरेको दाबी गरेका छन् ।

‘यहाँ नयाँ विवाद देखियो, हामी पार्टीका हौं कि संसदीय दलका हौं भन्ने प्रश्न उठेको छ,’ उनले भने, ‘हिजो (सोमबार) मात्र नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले विश्वासको मतको विपक्षमा मतदान गर्नका लागि ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको थियो । सोही अनुसार हामीले विपक्षमा मतदान गरेका हौं ।’

उनले पार्टीबाटै उम्मेद्वार बनेर पार्टीकै चुनाव चिह्नबाट निर्वाचित भएका सांसदले पार्टीको निर्णयलाई मान्नुपर्ने तर्क गरे । पार्टीले दिएको निर्देशनलाई संसदीय दलले मान्दिनँ भन्नु संसदीय अभ्यासको मूल्य र मान्यताविपरित हुने उनको भनाइ छ ।lokpath