प्रधानमन्त्री ओलीको गृहनगरमा चार अर्बको चलखेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा रंगशाला निर्माणको नाममा करोडौंको चलखेल भएको छ । मदन भण्डारी रंगशालाको टेण्डर प्रक्रिया मिलाएर करोडौं हिनामिना हुन लागेको हो ।

प्रधानमन्त्री ओलीकै नाम जोडेरमा यसमा डिल भइरहेको स्रोत बताउँछ ।हिनाहिनाको आशंकापछि सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायले छानबिन थालेका छन् । सार्वजनिक खरिद ऐन तथा निर्देशिका पालना नभएको उजुरीका आधारमा छानबिन सुरु भएको हो ।

करिब चार अर्बको लागतमा निर्माण हुन लागेको सो रंगशाला निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद्ले गत १६ बैशाखमा बोलपत्र आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय बोलपत्रमा ४५ दिनको समय दिनुपर्नेमा ३० दिनमात्र दिइएको र सार्वजनिक खरिद नियमावलीका अन्य प्रावधान समेत मिचिएको प्रारम्भिक छानबिनमा खुलेको छ ।

किरातेश्वर कन्ट्रक्सन लगायत निर्माण व्यवसायीकै उजुरीका आधारमा छानबिन थालिएको कार्यालयले जनाएको छ । प्रि–बिड बैठकमा दिएका सुझावहरु कार्यान्वायन नगरिएको र कुनै कम्पनी बिशेषलाई मिल्ने गरी प्राविधिक योग्यता राखिएकाले यसमा मिलेमतो गरी ठूलो अनियमितता गर्न लागिएको उजुरीमा उल्लेख छ ।

स्रोतका अनुसार राखेपका सदस्य सचिव रमेश सिलवालले एचएन कन्ट्रक्सनका मालिक करुण श्रेष्ठसँग मिलेर यसमा अनियमितता गर्न लागेका हुन् । सिलवालले प्रधानमन्त्रीलाई समेत आफुले मिलाउने भन्दै डिल गरेका छन् ।ठूला तथा जटिल प्राविधिक क्षमता आवश्यक पर्ने आयोजनाका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले गत बैशाखमा मात्र इन्जिनियरीङ प्रोक्युरमेन्ट कन्ट्रक्सन(इपीसी) सम्बन्धि निर्देशिका ल्याएको थियो ।

सुरुङमार्ग, रंगशाला, फ्लाइओभर जस्ता जटिल प्रकृतीका निर्माणसम्बन्धि प्रक्रियालाई सह जगर्न सो निर्देशिका ल्याइएपनि यो टेण्डरमा त्यसका प्रावधानहरु पालना नभएको सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीले बताए ।त्यो त सो रंगशालाको योजना पहिलेदेखि नै विवादमा पर्दै आएको छ ।

१० वर्षअघि नै झापाको कमल गाउँपालिका– ५ मा आदिवासी रंगशाला निर्माणका लागि त्यहाँ चिहान समेत हटाउने काम भएको थियो । २०६७ को बैशाखमा तत्कालिन रक्षामन्त्री रहेकी राष्ट्रपति भण्डारीबाट शिलान्यास समेत भइसकेको थियो । त्यो योजना रद्द गरी हाल दमकमा मदन भण्डारीको नाममा रंगशाला स्थापना गर्न लागेपछि स्थानीय आदिवासी जनजाती आक्रोशित छन् ।

विवादको क्रममा टेण्डरको विवाद पनि थपिएको छ । दमक–३ हम्सेदुम्सेमा सामुदायिक वन रहेको क्षेत्रमा रंगशाला निर्माण गर्न लागिएकोमा त्यहाँ समेत जग्गाको विवाद छ । विकासको नाममा प्रधानमन्त्रीकै गृहनगरमा हुन लागेको यो अनियमितताले ओलीको छवीमै ठूलो दाग लाग्ने देखिएको छ ।दृष्टि