कोरोनाको मार खेपिरहेको भारतलाई चक्रवातको ख,तरा

गुजरात र महाराष्ट्र समेत पाँच राज्यमा ताऊ ते नामक चक्रवातको खतरा देखिएको छ ।
त्यहाँको मौसम विभागका अनुसार, तुफान गोवाको तटीय क्षेत्रमा आइसकेको छ । र त्यो द्रुत गतिमा गुजराततर्फ बढिरहेको छ ।

आगामी १२ घन्टामा यो भयंकर तुफानमा परिणत हुने सम्भावना पनि छ ।

तुफानका क्रममा वर्षा भएर १५० देखि १६० किलोमिटर प्रतिघन्टाको दरले हावा चल्न सक्छ। महाराष्ट्र, केरल र गुजरातको तटमा तुफानको असर तीन दिनसम्म रहने आशंका छ ।

यस चक्रवातलाई म्यान्मारले ताऊ ते नाम दिएको हो ।

कर्नाटक राज्य विपत् व्यवस्थापन प्राधिकरणका अनुसार, चक्रवातका कारण विगत २४ घन्टामा अत्यधिक वर्षा भएको छ । चारजनाको ज्यान गएको छ भने ७३ वटा गाउँ प्रभावित भएका छन् ।

केरलमा पनि दुईजनाले चक्रवातका कारण ज्यान गुमाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवातबाट कम क्षति कसरी हुन्छ भन्ने सुनिश्चित गराउनका लागि शीर्ष अधिकारीहरूसँग बैठक गरेका छन् ।