कोरोना संक्रमणबाट ५८ जनाको मृ त्यु, ८६५९ मा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।

१ सय २८ सांसदसहित ६ सय ९ जनाको पिसिआर परीक्षण

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा १ सय २८ सांसदसहित ६ सय ९ जनाको स्वाव संकलन गरिएको छ । यही बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनको पूर्वसन्ध्यामा संसदमा जाने व्यक्तिहरुको कोरोना संक्रमण परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।

बुधबार र बिहिबार २ दिन स्वाव संकलन गर्ने कार्ययोजना अन्तर्गत आज पहिलो दिन १ सय २८ जना सांसद, कर्मचारी र पत्रकार गरेर ४ सय ८१ जना सहित ६ सय ९ जनाको स्वाव संकलन गरिएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।