स्याबासी दिए जसरी तिघ्रामा छोएपछी…

पूर्वकी एक युवतीले आफूमाथि पत्रकारले यौन दु,र्व्यवहार गरेको सार्वजनिक गरेकी छन् । विर्तामोडकी ती युवतीले झापाका एक पत्रकारले यौन दुर्व्यवहार गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा सहभागी एक पत्रकारले यौन दुर्व्यवहार गरेको उनले खुलाएकी छन् ।

विर्तामोड सिटी सेन्टरमा आयोजित एक कार्यक्रम होस्ट गर्न गएका बेला आफूमाथि दुर्व्यवहार भएको उनको भनाइ छ ।पत्रकारको नाम उल्लेख नगरी उनले फेसबुकमा लेखेकी छन्, ‘विर्तामोड सिटी सेन्टरमा एउटा कार्यक्रम होस्ट गर्न गएकी थिएँ । अर्को फ्लोरमा पत्रकार महासंघका नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान कार्यक्रम थियो ।

मेरो कार्यक्रम शुरु भएको थिएन । मलाई देखेर उहाँ (पत्रकार) म भएको ठाउँमा आउनुभयो । म बसेको कुर्सीनजिक बस्नुभयो । मलाई उहाँको प्रस्तुतिले असहज भैरहेको थियो ।’उनले ती पत्रकारले स्याबासी दिए जसरी तिघ्रामा छोएको र आफूलाई असहज महसुस भएको बताएकी छन् ।

‘उहाँले स्यावासी दिए झैं गरी मेरो तिघ्रामा छुनुभयो । मैले छोटो कपडा लगाएकी थिएँ । उहाँको छुवाइले मलाई पटक-पटक असहज महसुस गराएको छ’, आक्रोशित हुँदै उनले भनेकी छन्, ‘त्यतिबेला कार्यक्रम संचालन गर्न गएकाले मैले तत्काल प्रतिकार गर्न सकिन । त्यत्तिकैमा उहाँ त्यहाँबाट जानुभयो ।’तिनै पत्रकारले यसअघि पत्रिकाको कार्यालयमै यौन दुर्व्यवहार गरेको उनको भनाइ छ ।

‘कक्षा ११ मा पढ्थेँ,कहिलेकाँही लोकल पत्रिकामा मेरो आर्टिकल छापिन्थ्यो । एकपटक मेरो आर्टिकल छापिएको दिनको पत्रिका छुट्यो,भोलिपल्ट म त्यो पत्रिका लिन अफिस नै गएँ । त्यो बेला म पत्रकारबाट नजादिँदो तरिकाले ह्यारेस भएँ’,उनले भनेकी छन् ।ती पत्रकारबाट पटक-पटक दुर्व्यवहार भएको भन्दै उनले कानूनी उपचार खोज्ने बताएकी छन् । ह्यासट्याग गर्दै लेखिन्, ‘अब सहिन्न ।’